२०७८ - आश्विन - ०६ | बुधबार

न्यायालयका धरोहर

अनिरुद्रको त्यो उँचो कद

लेक्स नेपाल  |
बैशाख ०१, २०७८
602 Shares

न्यायालय राष्ट्रका तीन अङ्गमध्येको प्रमुख अङ्ग हो । यसको स्वतन्त्रता, सक्षमता र निष्पक्षताले नै न्यायको अनुभूति गराइदिन्छ आम जनमानसमा । जबसम्म न्यायालयले न्याय गर्न सक्षम हुन्छ तबसम्म न्यायपालिकाप्रति जनताको विश्वास रहन्छ तर जब न्यायलय कसैको प्रभावमा वा दवावमा पर्न जान्छ तब न्याय लोप हुँदै जान्छ । अदालतप्रतिको जनास्थामा ह्रास उत्पन्न हुन थाल्छ । 

 

त्यसैले त न्यायालय स्वतन्त्र रहोस् र न्याय निरुपणका काम कारबाहीहरु स्वतन्त्र रुपमा सञ्चालन होऊन् भन्ने उद्देश्यले नेपालमा पहिलो पटक वि.सं. १९९७ साल आषाढमा तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेरबाट एउटा सनद जारी भयो जसमा उल्लेख थियो अब उप्रान्त प्रशासकीय काम कारबाहीका लागि छुट्टै अड्डा र न्यायिक काम कारबाहीका लागि छुट्टै अड्डा गठन गर्ने प्रावधान हुनेछ । सो प्रावधान अनुसान नेपालमा पहिलो पटक स्वतन्त्र रुपमा न्यायालयको गठन भयो । 
 

त्यसरी गठन भएको प्रधान न्यायालयको पहिलो प्रधान न्यायाधीश निर्वाचन मार्फत् चुनिनु भएको थियो बहादुर शमशेर जबरा । जसलाई तत्कालिन समयमा न्यायाधीश जनरल भनेर सम्बोधन गरिन्थ्यो । त्यसपछि २००७ सालसम्म सो न्यायालयको नेतृत्व वसन्त शमशेर जबराले गर्नु भयो र सात सालको परिवर्तन पछि तेस्रो न्यायाधीश हरि प्रसाद प्रधानले प्रधान न्यायालयको प्रधान न्यायाधीशका रुपमा न्यायालयको नेतृत्व गर्नु भयो । वि.सं. २०१३ सालमा प्रधान न्यायालयललाई सर्वोच्च अदालत भनी नामाकरण गरियो । यसरी निर्माण भएको सर्वोच्च अदालतको पहिलो न्यायाधीश तर नेपालको इतिहासमा न्यायालयको चौथो प्रधान न्यायाधीशका रुपमा नियुक्त हुनु भयो अनिरुद्र प्रसाद सिंह । 
 

भर्खर न्यायालयको विकास भइ रहेको थियो त्यो समयमा । वास्तवमा सात सालको परिवर्तन पछि प्रधान न्यायाधीश बन्नु भएका हरि प्रसाद प्रधानको योगदान निक्कै ठूलो थियो । अदालतमा झगडियाको प्रतिनिधित्व गर्ने वकिलहरुलाई वकालत सिकाउने, न्यायाधीशलाई फैसला लेख्न सिकाउने यी न्याय निरुपणका गतिविधिहरुको त जग नै बसाल्नु भएको थियो हरिप्रसाद प्रधानले तर उहाँ नेपाली नागरिक नभएर दार्जिलिङ्गमा वकालत गर्दै आउनु भएको थियो ।
 

तर जब २०१३ सालमा सर्वोच्च अदालत गठन भयो त्यसको पहिलो प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले न्यायालयको नेतृत्व गर्नु भयो । न राणा परिवारसँग नजिक हो, न राजपरिवार वा दरबारसँग नजिकको मान्छे न पूर्खा कुनै उच्च ओहदामा पुगेका थिए । एक सामान्य नेपाली तर नेपालको एक मुख्य संवैधानिक अङ्गलाई नेतृत्व गर्ने तहमा पुग्नु त्यो पनि केवल ३४ वर्षको उमेरमा । यो सानो कथा वा चानचुने कुरा होइन । 
 

झापा गोश्वाराको हाकिमको रुपमा अनिरुद्र प्रसाद सिंहले आफ्नो जागिरे जीवनको सुरुवात गर्नु भएको थियो । झापा त्यसबेला निक्कै अविकसित र अशान्ति थियो । 
 

राणाकालिन परिवेशमा नेपाली कांग्रेसले झापाको माल अड्डामा हमला गरेका बखत त्यो अड्डामा रहेको करिब ३ लाखको ढुकुटी अनिरुद्र प्रसाद सिँहले सरकारलाई नै सुम्पिनु भयो । यसले अनिरुद्र प्रसाद सिंहको देशप्रतिको माया र इमान्दारिता कति रहेछ भन्ने देखाउँछ । पछि अन्य केही प्रशासकीय अड्डाहरुको नेतृत्व गर्नु भएका अनिरुद्र प्रसादलाई सर्वोच्च अदालतको प्रधान न्यायाधीश बनाइयो । 
 

सर्वोच्च अदालतकोे प्रधान न्यायाधीशको रुपमा रहनु भएका अनिरुद्र प्रसाद सिंहले करिब ३ वर्ष प्रधान न्यायाधीशको कार्यकाल सम्हाल्नु भयो । आफ्नो कार्यकाल उहाँले न्यायालयको सुधारका निम्ति गरेका कार्य आजका दिनमा निक्कै नै महत्वपूर्ण छन् जसलाई हामीले आज चर्चा गरि रहेका छौँ । 
 

न्यायालयमा रहँदा अनिरुद्र प्रसाद सिंहले गर्नु भएका फैसलाहरुले नेपालको न्याय जगत्को विकासमा विशेष महत्व राख्नछन् । अदालती निर्णयमा विशेष दर्शन प्रतिपादन गरी न्यायालयको गरिमा उच्च पार्नु भएका अनिरुद्र प्रसाद सिंहका कैयन फैसला मध्ये बि.पि. कोइराला विरुद्ध नेपाल सरकारको मुद्या लगाएतका मुद्यामा न्यायजगत्का लागि योगदान पुग्ने गरी नजिर स्थापना भएका छन् । त्यो बेला चारपासे न्यायाधीशहरुको बाहुल्यता थियो न्यायालयमा । ल ग्रयाजुएटलाई वकालतमा आउनुपर्छ भनी हौसला दिने काम उहाँबाट भएको थियो । न्यायाधीशहरु पनि ल ग्रयाजुएट गरेको हुनुपर्छ भन्ने मान्नेता राख्नुहुने अनिरुद्र प्रसाद सिंहले नेपालको कानुनी क्षेत्र विकासकै निम्ति निकै संघर्षरत रहनु भयो । 
 

उहाँले राष्ट्रको अति उच्च पदमा रहेर ६ दशक मुलुकको सेवा गर्नुभयो । वि.सं. २००३ सालमा झापा मालको हाकिम भइ नेपाल सरकारको सेवामा प्रवेश गर्नु भइ वि.सं. २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई कार्य गर्नु भयो । २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन हुनुभयो । वि.सं. २०१३ सालमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश र वि.सं. २०१६ सालमा लोकसेवा आयोगको अध्यक्षमा उहाँ मनोनयन हुनु भयो । वि.सं. २०१७ सम्ममा कानुनमन्त्री, वनमन्त्री लगाएत छ÷सात मन्त्रालयको मन्त्रीको रुपमा सेवा गरेपछि २०१८ सालमा उहाँलाई राजा श्री ५ महेन्द्रबाट नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुखको पदमा नियुक्त गर्नु भयो । २०३२ सालमा उहाँलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३५ सालमा अख्तियार दुरुपयोग निवारण आयोगको प्रमुख आयुक्तमा मनोनयन गरिएको थियो भने सो पदमा २०४२ सालसम्म कार्यरत रहनु भयो । त्यसपछि २०४२ सालमै राजसभा स्थायी समितिको सभापतिमा नियुक्त हुनुभयो । सो पदमा २०४७ सम्म कार्यरत रहेपश्चात् राजपरिषद् विघटन वा खारेज हुनुपुर्वसम्म सदस्यमा कार्यरत रहनु भयो । र समय समयमा गठन हुने दर्जनौँ अति उच्च समितिहरु तथा छानबिन समितिहरुको समेत इमान्दारीपूर्वक जिम्मेवारी सम्हाल्नु भएको छ अनिरुद्र प्रसाद सिंहले ।
 

जीवनको बढी जसो समय देशको उच्च ओहदामा सेवा गर्दै बिताउनु भएका अनिरुद्र प्रसाद सिंहको व्यक्तिगत जीवनमा पनि सबैसंग राम्रो सम्बन्ध बनाउनु भएको थियो । अहिले उहाँ हामी माझ हुनुहुँदैन । १०० वर्षको उमेर गत साल मात्रै उहाँको निधन भयो । 
 

नेपालका बहुप्रतिभाशाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तित्व अनिरुद्र प्रसाद सिंह चौतर्फी अध्यक्ष र अनुभवले खारिएका महापुरुष नै हुनुहुन्छ । उहाँको विश्वास छ की कामना नै कर्मको जननी हो भने कर्म नै विश्वमा प्रधान छ । 
 

जस्तो सुकै ठूलो पद प्राप्ति गरेपनि अनिरुद्र प्रसाद सिंहलाई कुनै कुराको लोभ मोह रहेन । सायद त्यो लोभलालसा भएको भए उहाँलाई दरबारले विश्वास गर्दैनथ्यो । त्यसरी निःस्वार्थ पूर्वक देशको सेवा गर्ने सेवक नै हो उहाँ । 
 

नेपाल भूमिमा त्यस्ता थोरै मात्र व्यक्तिको जन्म भएको छ जसले साँच्चिकै यो देशलाई यो समाजलाई अनि देशवासीलाई केही योगदान गरी देशको निम्ति बाँचेका छन् । यो भनिरहँदा आज अनिरुद्र प्रसाद सिंह सय वर्षको हुनुहुन्छ  । शताब्दी पूरुष वा महापुरुषको संज्ञा यो देशले केही व्यक्तिहरुलाई दिएर सम्मान नगरेको होइन । तर त्यस्ता केही व्यक्तिहरु छन् जसले देशका निम्ति अति उच्च पदमा रहेर इमान्दारिता पूर्वक जिम्मेवारी सम्हालेका छन् तर यो राष्ट्रले वा सरकारले भनौँ वा जनाताले नै किन नभनौँ उहाँहरुप्रतिको सम्मान, उहाँबाट सिक्नु पर्ने कुराको अनुशरण र ती व्यक्तिले देशलाई पु¥याएको योगदानको कदर स्वरुप दिनुपर्ने सम्मान दिन सकेको छैन । केही यस्ता व्यक्ति हुन्छन् जो एक युगमा एकपटक भेटिन्छन् त्यस्ता व्यक्तिहरु मध्येको एक हुनुहुन्छ पूर्व प्रधान न्यायाधीश अनिरुद्र प्रसाद सिंह ।
 

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८