२०७८ - माघ - ०५ | बुधबार

ललितानिवास जग्गा प्रकरण

बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचारको अभियोग लागेका गच्छदार अदालतमा हाजिर 

लेक्स नेपाल  |
असार ३०, २०७८
424 Shares

ललिता निवास जग्गा प्रकरणमा अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेकोमा डेढ वर्षअघि उनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले बताए अनुसार आज बिहान १० बजे गच्छदार विशेष अदालत पुगेका थिए। अहिले उनको थुनछेक बयान चलिरहेको छ। 

अदालतले म्याद काटेको झण्डै डेढ वर्षपछि उनी अदालतमा हाजिर भएका हुन्। डेढ वर्षअघि काटिएको म्याद बदर भएर डेढ महिना अघि अर्को म्याद जारी गरिएको प्रवक्ता पाण्डेले बताए। 

गच्छदारलाई अदालतमा भ्रष्टाचार मुद्दा लागेपछि अहिले सांसद पदबाट निलम्बित छन्। 

२०६६ चैत २९ गते बालुवाटारको प्रधानमन्त्री परिसर विस्तार गर्ने र प्रधानमन्त्री निवास परिसरमा रहेको जग्गा नक्कली मोहीलाई सट्टापट्टा दिने निर्णयको प्रस्ताव भौतिक निर्माण तथा योजना मन्त्रालयबाट गएको थियो। त्यतिबेला माधवकुमार नेपाल सरकारमा गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए। 

प्रधानमन्त्री निवास विस्तारको निर्णय भौतिक योजना मन्त्रालयबाट जानु उचित भए पनि गच्छदारको प्रस्तावमा निवास परिसरभित्रका जग्गा सट्टापट्टा दिने र मोहीलाई सरकारी जग्गा दिने निर्णयको प्रस्ताव समेत गरिएको थियो।

जग्गा सट्टापट्टा दिने र मोहीलाई जग्गा दिने वा सरकारी जग्गा दाखिल खारेज गर्ने प्रस्ताव भौतिक योजना मन्त्रालयबाट नभई भूमिसुधारबाट आउनुपर्ने थियो। 

यसरी कानुनविपरीत सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै अख्तियारले ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग लगाएको थियो। उनलाई ११ वर्षदेखि १३ वर्षसम्म कैद सजाय हुनुपर्ने र बिगो बमोजिमको जरिवाना तिराउनुपर्ने अख्तियारको माग छ। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा चलाएको थियो। 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८