२०७८ - बैशाख - २३ | बिहीबार

न्यायिक मन्थन

मैले आत्मकथा किन लेखेँ ? – पूर्व प्रधानन्यायाधीश पराजुली

गोपाल पराजुली  |
बैशाख २१, २०७८
189 Shares

जीवन पुस्तक हो । यसका प्रत्येक पृष्ठ कौतुहलले भरिएका हुन्छन् । न्यायालयमा रहेर काम गर्दा मैले जीवन पढेँ, जीवन देखेँ, जीवन भोगेँ । आफ्ना भोगाइ सबैमाझ पस्कनुपर्छ भन्ने सोच म पदमा हुँदै पलाएको हो । निवृत्त भएको दिन नै मैले पहिलो अनुच्छेद तयार गरेँ । आजसम्म लेख्दै जाँदा थुप्रै अनुभव र भोगाइहरु चाङ्ग लाग्दै गएका छन् । विगत वर्षहरुमा बजारमा दर्जनौँ आत्मकथा नामका प्रकाशन छरिएका छन् । सबैको भोगाइ र अनुभूति समभावको नहुने भएकाले होला आम रुपमा पाठकहरुको आत्मकथाप्रतिको अभिरुचि त्यति उत्साहप्रद हुन छाडेको छ भन्ने समालोचकहरुको टिप्पणी रहेको छ । अरु कतिपय पाठकले आत्मकथाहरुमा कृत्रिमता मात्र रहेको, बनावटीपन बढी रहेको र ‘आत्म’ विहीन कोरा कथा मात्र रहेको भन्ने टिप्पणीसमेत गरेको सुनिएको छ । 

करिब करिब तयार भइ सकेको मेरो आत्मानुभूतिको संगालोलाई सार्वजनिक गरौँ कि नगरौँ भन्ने सन्र्भमा घोत्लिन म बाध्य भएँ । पाठकीय अभिूचिको वितृष्णा भावलाई देख्दा प्रकाशन नगर्ने निधोमा पुगेँ र एकपटक थन्क्याएँ पनि, तर मेरो त्यस निर्णयलाई पछिल्ला घटनाक्रमहरुले कायम रहिरहन दिएनन् । सेवा अवधिमा मात्र नभई निवृत्त जीवनमा पनि भोगाइ र अनुभूतिहरु झन् झन् पेचिलो बनेर आइरहे । सत्य तथ्य र यथार्थ विपरितका अनर्गल प्रचारहरु निरन्तर आइरहँदा त्यससम्बन्धी यथार्थ तथ्य आम पाठकसमक्ष पुग्नुपर्छ भन्ने मेरो अन्तस्करणको ठम्याइ रह्यो । त्यस्ता प्रचारले सत्यलाई गिज्याइरहेको, सामाजिक घरातलमा केवल एकालापीय चिन्तनहरुको बोलवाला बढ्दै गइरहेको महसूस गरी मैले आफ्ना अनुभूतिलाई प्रकाशन नगरुँ कि भन्ने सोचलाई सच्याउनु आवश्यक ठानेँ । त्यसपूर्व मैले दृढ रुपमा केही निश्चय गरेँ । 

मेरा निश्चयहरुमध्ये पहिलो, यसमा कृत्रमता छैन, आत्मकथा मानिसको अन्तरात्माको प्रकटीकरण हो । यसको विकास यही रुपमा हुनुपर्छ । भनिन्छ –सबैलाई ढाँट्न र छल्न सकिन्छ, तर आफ्नो आत्मालाई कदापि ढाँट्न सकिँदैन । मैले पनि मेरो आत्मालाई साक्षी राखेर कुनै पनि कुरा नलुकाई प्रस्तुत गरेको छु । आफ्ना सबल पक्षका साथै स्वाभाविक रुपमा मानिसका कमजोरी पनि हुने गर्छन्, यो अकाट्य सत्य हो । मेरो जीवनका सापेक्षतामा वरिपरि ठोक्किन आइपुगेका सम्पूर्ण यथार्थलाई बिनाकुनै तोडमोड जस्ताको तस्तै प्रकटीकरण गर्दा कसैलाई कुनै ठेस पुग्न गएको भए क्षमाप्रार्थी छु । 

दोस्रो, यो अभिव्यक्ति मेरो कसैप्रतिको राग, द्वेष र प्रतिशोधको उपज होइन । यसमा कसैप्रतिको पूर्वाग्रह रहेको छैन । सबैप्रति समता भाव राखेर केवल यथार्थ, मैले भोगेको सत्यलाई पस्केको छु । सबैप्रति समता भाव राखेर केवल यथार्थ, मैले भोगेको सत्यलाई पस्केको छु । मेरो जिम्मेवारीमा परेका जीवनव्यवहारका शृङ्खलाभित्र जहाँ जहाँ जे जे आइपरे ती ती मैले भोगेँ । साहित्यको आख्यान विधामा जसरी कथानकभित्र विषयवस्तु संयोजित रहन्छ त्यसरी नै मेरा भोगाइहरुभित्र अनेकौँ आरोह अवरोह र उतारचढाव विषयवस्तु र घटनाक्रम अन्तर्मुक्त भएका छन् । 

मानव सचेत र सर्वश्रेष्ठ प्राणी हो, तर यस धरामा कोही पनि त्यस्तो नहोला जो केवल गुणैगुणले भरिएको छ वा अवगुणै अवगुणले भरिएको छ । कसैलाई दैवीकरण वा राक्षसीकरण गरिनु अतिरञ्जित कृत्य हो । निहित फाइदाका निम्ति गरिने बढाइचढाइ वा खोइरो खनाइभन्दा पृथक् रही जे जस्तो वस्तुसत्य प्रतीत हुन सकेको छ त्यही अनुसारको उल्लेखन र विश्लेषण गर्ने मेरो प्रयास रहेको छ । 

मेरा भोगाइहरुलाई पुस्तकाकारमा प्रस्तुत गरिरहँदा म पदमा रहँदा वा नरहँदा मैले थाहा पाएका सूचनाहरुलाई प्रकट गर्ने छैन भनी संविधानप्रति गरेको शपथलाई मैले हजारौँ पटक स्मरण गरेको छु । त्यस सीमाभित्र रहँदा न्याय परिषद्को निर्णय प्रक्रिया र सर्वोच्च अदालत फुलकोर्टको छलफललगाएतका कतिपय विषयवस्तुहरुलाई चाहना रहँदा रहँदै पनि समेट्न सकिएको छैन । त्यस हदसम्म मैले पाठकहरुसमक्ष पूर्ण न्याय गर्न सकिनँ कि भन्ने अनुभूति भइरहेको छ । 

समग्रतामा मेरो बाल्यजीवनको संस्मरणमोहलाई मैले त्याग्न सकिनँ । त्यसलाई सङ्क्षिप्तमा समेटेको छु । किशोरावस्थाका अध्ययन, सिकाइ, मेहेनत र युवावस्थाका क्रियाशीलताका साथै कानुनकर्म तथा न्यायसेवाका अनुभव र अनुभूतिलाई मैले गहिराइमा समेट्ने प्रयास गरेको छु । मैले भोगेका आम जीवनदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भ तथा परिवेशहरुलाई बोध गर्ने र विश्लेषण गर्ने अवसर, आफ्नो व्यक्तिगत जीवन र सार्वजनिक जीवनका शृङ्खलाहरुमा आएका विभिन्न आरोह तथा उतारचढावहरुका सबै पक्षहरुलाई समीचिन ढङ्गले प्रस्तुत गर्ने जमर्को गरेको छु । 

समग्र इतिहास र परिवेशलाई घोरिएर हेर्ने हो भने मानव जातिले प्रतिकूलतालाई चिर्दै आफ्नो इतिहास रचेको देखिन्छ । अनेकौँ अवरोधहरुबाट कतै लडेर कतै भागेर पनि आफ्नो अस्तित्वलाई बचाउन मान्छे सफल भएका छन् । शासकहरुको अदुरदर्शिताका कारण कैयन् मानिसहरु लखेटिएका छन् । कतै अलप भएका छन् । तथापि प्रतिकूलतालाई चिर्न सक्नेहरुले इतिहास नामेट हुन दिएका छैनन् । प्राकृतिक विपत्ति होस् या मान्छेबाट हुने अत्याचार, मानिसहरु यस्ता अनेकौँ चुनौतिको सामना गर्दै आफूलाई प्रकटीकरण गर्न सफल हुन्छन् । 

जीवनमा कहिलेकाहीँ केही यस्ता पात्र र घटनाहरुलाई झेल्नु र भोग्नुपर्दो रहेछ जसले हामीलाई बारम्बार घोचिरहन्छन्, पीडा दिइरहन्छन्, मानसिक तनावको प्रवल उल्झनमा पु¥याउँछन् । त्यस्ता उल्झनलाई विवेकपूर्ण निकासबाट व्यवस्थापन गर्न सकिएन भने तनावपूर्ण उल्झन झनै प्रत्यत्पादक हुनसक्छ । यो आत्मवृत्तान्त तिनै पात्र र घटनाहरुको उपज हो । त्यस्ता पात्र र परिवेशबाट शिक्षा लिँदै प्रतिकूलतामा पनि हाँस्ने र त्यसैभित्रको अन्वेषणका लागि चिन्तन गरिरहने मेरो स्वभावलाई यथार्थमा पस्कन पनि मैले यो पुस्तक तयार गरेको छु । मलाई प्रतिकूलतामा उभ्याउन बाध्य पार्ने त्यस्ता पात्रहरुले मेरो अस्तित्वलाई नामेट गर्न ठूलो लगानी र जवानी खर्च नगरिदिएका भए शायद यो पुस्तक प्रकाशित हुने थिएन । त्यस अर्थमा उनीहरुले दिएको पीडालाई शायदै बिर्सन सकौँला । मेरो मनमस्तिष्कमा सम्झिरहने पात्रहरुका रुपमा लिएको छु । त्यस्ता पात्रहरुलाई म धन्यवाद दिन चाहन्छु । उनीहरुले प्रतिकूल अवस्था सिर्जना नगरिदिएका भए यो पुस्तक प्रकाशन हुन सक्ने थिएन । 

(पूर्व प्रधानन्यायाधीश पराजुलीको भर्खरै प्रकाशित आत्मकथा ‘संयोगका पानाहरु’को प्राक्कथन बाट साभार)

गोपाल पराजुली


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८