२०७८ - असार - १० | बिहीबार

न्यायिक व्यक्तित्व

मेरो आत्मकथा : डा. कुमार शर्मा आचार्य

डा. कुमार शर्मा आचार्य  |
जेष्ठ १५, २०७८
322 Shares

म नजन्मदै २०१५ सालतिर दाङ्गमा काँग्रेसले‌ लुटपाट गर्दा आफ्नो गाउँ र आफ्नै घर लुटिएको कथाको प्रभाव मनमा थियो शायद। वुवा बितेपछि २०२८ सालतिर मामाघर बस्दा मामा कम्युनिष्ट भएको र रामप्रसाद मामाको कोठामा रहेको उहाँको फोटोको छातिमा माओको फोटो देखेकोले राजनीति नबुझेपनि आफू काँग्रेसको बाहुल्यता भएको महेन्द्र हाईस्कूलमा पढ्थेँ । त्यो बेला दाङका स्कूल नै कम्युनिष्ट र काँग्रेसी हुन्थे, फरक विचारका स्कुलका विद्यार्थीलाई एक–अर्काले पिट्थे। नारायणपुर र भोजपुरका केही विद्यार्थीले घोराहीमा एसएलसी दिन नसकेर, सल्यान वा प्यूठानबाट दिन्थे । पढेपनि‌ गाउँका दुर्गा दाइसँग आफूलाई ‘का’ हैन ‘क’ भन्ने गर्थे । नेपालगन्जमा पढ्दा (२०३३–२०३६) पनि काँग्रेस विरोधी राजनीतिमा आकर्षित भएँ। विचारको राजनीति बुझेको थिइन, शायद त्यसैले खास परिवेश बनेन। त्यसैले सक्रिय पनि थिइन ।

जब २०३६ सालमा काठमाडौं‌ आएँ त्यसबखत विद्यार्थी राजनीति उत्कर्षमा थियो। युवा जोश, निष्कृय बस्न स्वभावले दिएन। अखिल पाँचौं बन्न पुगेँ । क्रमशः कम्युनिष्ट बन्दै गएँ। राजनीति पनि बुझ्दै गएँ। तत्कालीन् मालेको भूमिगत काम गर्न थालेँ। क. नेत्रलालको सम्पर्कमा रहेर अपानी समेत पढेँ। अघोषित प्रशिक्षणमा समेत सहभागि भएको थिएँ । २०३६ सालको जनमतसंग्रहमा पार्टीको स्पष्ट निर्देशन नभएपनि बहुदलको पक्षमा जनमत सिर्जना गर्न लागियो। यसरी नै विद्यार्थी राजनीतिमा सक्रिय हुन पुगेँ। 

२०४० सालमा अधिवक्ता भएपछि वकालत थाल्दा पुनः भूमिगत काम शुरू भयो। पार्टीको बुद्धिजिवी फाँटमा विभिन्न जिम्मेवारी लिनुपर्यो। निर्वाचनमा पर्यवेक्षक बन्ने, नेपाल बार एशोसिएशनका गतिविधिमा संलग्न हुने र एनजिओका कार्यक्रमबाट सिक्दै गएँ। पेशा र सामाजिक गतिविधिमा सम्मिलित र दिक्षित हुँदै गएँ। पार्टीमा बाँके जिल्ला कमिटीको सदस्य लगायतका जिम्मेवारी वहन गर्न पुगेँ। २०५१ सालमा नेवाएको उपाध्यक्षमा उम्मेदवारी नपाएर कानुन व्यवसायी परिषद्को सदस्यमा नेताहरुको दवावमा उम्मेदवार बन्नु परेको थियो। निर्वाचनमा जितियो पनि। २०५१ सालमै एमालेको अल्पमतको सरकारले गठन गरेको शानेवानी छानबिन आयोगको सदस्यको जिम्मेदारी बहन गरेँ । तर विभिन्न कारणले आयोग विघटन भयो। पछि २०६० सालमा विभिन्न तिकडम र झेललाई परास्त गरेर नेवाए उपाध्यक्षको उम्मेदवारी पाइयो र जितियो पनि। सहजै टिकट पाउने हाम्रो समुहका साथीहरू कसैले पनि उपाध्यक्ष जित्नु भएन ।
 
२०६४ सालमा नेपालगंजबाट काठमाडौं आएर अध्ययन र अध्यापन गर्ने र वृत्ति विकासमै तल्लिन भएँ। राजनीतिमा जिम्मेवारी थिएन, मिलेन। पेशा, मेलमिलाप र सामाजिक सेवालाई निरन्तरता दिइरहें।

२०७४ सालमा मूख्यमन्त्री ज्यूको अनुरोध नकार्न नसकेर, पार्टीको काम ठानेर र उहाँलाई सफल बनाउन प्रदेश नं ५ (हाल लुम्बिनी प्रदेश) को प्रदेश कानुन आयोगको अध्यक्षको जिम्मेवारी स्विकार गरें। केन्द्रले प्रदेशका अधिकार प्रयोग गरिरहेको कुरालाई सच्याउन खोजें। तर, प्रदेशलाई अधिकार सम्पन्न बनाउने भन्दापनि केन्द्रीय सरकारको अनुकुल बन्नुपर्ने र आफ्नो चाहना वा योग्यता भन्दा तल्लो तहको जिम्मेवारीमा काम गर्न मनले नमानेर कार्यकाल नथप्न मूख्यमन्त्रीलाई अनुरोध गरेर काठमाडौं फर्कें । 
 
काठमाडौं फर्केपछि मेलमिलापलाई मीयो मानेर यसको प्रवर्द्धनलाई लक्ष बनाउँदै गुजाराको लागि कानुन व्यवसायलाई निरन्तरता दिईरहेको छु‌। वरिष्ठ अधिवक्ता, मेलमिलाप विज्ञ, मेलमिलाप दूतको पगरी गुथेको छु। न्यायपालिका शुद्धीकरण अभियन्ता बनेर अदालत प्रति जनआस्था बढाउने सत्प्रयास गरेको सुखद अनुभूति छ। मेलमिलाप र सामाजिक अभियन्ता हुनुमा गर्व गर्दै यसैमा जीवन पर्यन्त लाग्ने लक्ष्य छ। असल मान्छे बन्ने कोशिस जारी छ। अब राजनीतिको प्रभावमा छैन। नेवाए र सर्वोच्च वार बाहेक कसैको ह्वीप लाग्दैन।

डा. कुमार शर्मा आचार्य

थप समाचार