चैत्र २०, काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदन आज हेर्न नमिल्नेमा परेको छ । उक्त रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
९ भदौमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भयो । पछि मात्र सभामुख सापकोटाले दल दर्ता भइसकेकाले आवश्यक कारबाही गरिरहनु परेन भन्दै सूचना टाँस गरेका थिए । यसविरुद्ध ओली सर्वोच्चमा १७ भदौमा पुगेका हुन् ।
यसअघि २२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले ओलीको रिटमा मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।