२०७८ - मंसिर - १२ | आईतवार

संविधान प्रतिकुल नियमावली

नियमावलीमार्फत संविधान मिच्दै सुदूरपश्चिम प्रदेशसभा

लेक्स नेपाल  |
बैशाख ०४, २०७८
970 Shares

४ बैखाख, धनगढी । सुदूर पश्चिम प्रदेशसभाले लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसदको पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोगमा ल्याएको छ । कुनै सांसद्ले पूर्व जानकारी नै नदिइ लगातार दश दिनसम्म अनुपस्थित रहेमा नेपालको संविधानको धारा १८० को उपधारा (घ) ले प्रदेशसभा सांसदको पद रिक्त हुने व्यवस्था गरेको छ । तर सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ को नियम १८५ ले संविधानलाई मिच्दै सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश सांसद्को पद जोगाइदिने काम भएको छ ।

नेपालको संविधानको सो धाराले सूचना नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद रिक्त हुने व्यवस्था गरेको छ भने सुदूरपश्चिम प्रदेश सभा नियमावलीको नियम १८५ उपनियम (१) ले लगातार १० बैठकमा अनुपस्थित हुनुपर्ने कारण सहित प्रदेश सांसद्ले सभामुखलाई अग्रिम जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । सोही नियमको उपनियम (४) ले उपनियम (१) बमोजिम आएको सूचना सभाबाट स्वीकृत गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, सुदूरपश्चिम प्रदेशसभामा कुनै सूचना नदिएर लगातार १० वटा बैठकमा उपस्थित भएका केही सांसद्हरूले पछि दिएको सूचना पनि प्रदेशसभामा लगेर स्वीकृत गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार अग्रिम सूचना नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित एक जना सांसद्ले १२ औं बैठकमा उपस्थित भएर पछि दिएको सूचना प्रदेश सभाबाट स्कीकृत गरिएको छ ।

अग्रिम सूचना नदिएर लगातार बैठकमा उपस्थित नहुने र १२ औं बैठकमा आएर सूचना दिई सभाबाट स्वीकृत गराउने सांसद्को पछि दिएको सूचना अधिवेशनको चैत १७ गते बसेको १४ औं बैठकमा स्वीकृत भएको छ । ति सांसद् प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठक २०७७ माघ २६ गते उपस्थित थिए । त्यसपछि उनले सभामुखलाई जानकारी नदिएर सो अधिवेशनको दोस्रोदेखि ११ औं बैठकसम्म लगातार अनुपस्थित भए । उनले २०७७ चैत १२ गते उपस्थित हुन नसक्नुको कारण सहित प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराए ।

यसैगरी, अर्का एक जना प्रदेश सभा सदस्यले पनि सभामुखलाई अग्रिम सूचना नदिएर प्रदेश सभाको सातौं अधिवेशनमा लगातार १२ वटा बैठकमा अनुपस्थित भएका छन् । उनले सातौं अधिवेशनको पहिलो, चौथो र पाचौं बैठक बाहेकमा उपस्थित भएका छैनन् । प्रदेशसभा सचिवालयका अनुसार उनले श्रीमतिको उपचारको क्रममा काठमाडौंमा रहेकाले लगातार उपस्थित हुन नसकेको भनेर प्रदेश सभा सचिवालयमा बिहिबार सूचना दर्ता गराएका छन ।
नेपालको संविधानको भाग १४, धारा १८० को उपधारा (घ) मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभाका सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । तर सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ को परिच्छेद २२ को नियम १८५ को उपनियम (१) मा कुनै सदस्य लगातार दशवटा वा सो भन्दा बढि बैठकमा अनुपस्थित रहनु पर्ने भएमा तत्सम्बन्धी अग्रिम सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था गरेको छ । सोही नियमको उपनियम (२) मा कुनै सदस्य सभाको दशवटा भन्दा कम बैठकमा उपस्थित हुन नसक्ने स्थिति भएमा सभामुखलाई अग्रिम सूचना दिनुपर्ने र अग्रिम सूचना दिन नसक्ने कुनै मनासिब कारण भए उपस्थित भएको तिन दिनभित्र सूचना दिनुपर्ने व्यवस्था गरिएको छ ।

तर संविधानले गरेको परिकल्पना विपरित प्रदेशसभाले नियम बनाउँदा सो प्रावधान संविधानसँगै बाझिएको छ । प्रदेशसभा सांसद रहेका जनप्रतिनिधिहरु नियमित संसदमा उपस्थित होउन् र विशेष काम बाहेक अनुपस्थित नरहुन् भन्ने परिकल्पना हाम्रो संविधानमा दखिएपनि प्रदेशसभाले मनमौजि संविधानसँग बाझिने नियम बनाएर संविधानको परिकल्पनालाई नै बेवास्ता गरेका छ । 
 

लेक्स नेपाल

थप समाचार