२०७८ - श्रावण - १८ | सोमबार

प्रतिनिधिसभा विघटन प्रकरण

प्रतिनिधिसभा विघटनमा निवेदक तर्फका वकिलको शुक्रबार अन्तिम बहस 

लेक्स नेपाल  |
असार १०, २०७८
460 Shares

असार १०, काठमाण्डौँ । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा बिहीबारको सुनुवाई सकिएको छ । रिट निवेदकका लागी इजलासले दिएको समय अब, ४ घण्टा ४५ मिनेट बाँकी छ । 

बिहीबार वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् । रमनकुमार श्रेष्ठले ५० मिनेट र हरिहर दाहालले ४५ मिनेट बहस गरेका थिए भने अरु, वरिष्ठ अधिवक्ताले १०-१० मिनेट बहस गरे ।

संवैधानिक इजलासमा जारी सुनुवाईमा रिट निवेदकको तर्फबाट शुक्रबार २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । रिट निवेदक पक्षलाई सुरुवाती बहसका लागि १२ घण्टाको समय तोकिएको छ ।

हरेक दिन ४ घण्टामात्रै बहस गराउने इजलासको आदेश अनुसार निवेदक तर्फका २९ कानुन व्यवसायी हरुलाई शुक्रबार ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । रिटको पक्षमा बहस गर्न वकालतनामा बुझाएका कानुन व्यवसायीहरुको छलफलबाटै २९ जना कानुन व्यवसायीलाई बहसको समय तोकिएको हो ।

रिट निवेदक पक्षले सुरुवाती बहस गर्ने शुक्रबार अन्तिम दिन हो । शुक्रबार वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले सबैभन्दा बढी ३०-३० मिनेट बहस गर्नेछन् । त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा। भीमार्जुन आचार्यले २०-२० मिनेट बहस गर्नेछन् । अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट समय छुट्याइएको छ ।

अन्य कानुन व्यवसायीहरुलाई न्यूतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । इजलासले बहस व्यवस्थापनका लागि जारी गरेको आदेश अनुसार रिट निवेदक पक्षको सरुवती बहस शुक्रबार सकिनेछ । आइतबार देखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस सुरु हुनेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय पाउनेछन् ।

लेक्स नेपाल

थप समाचार