२०७८ - बैशाख - २३ | बिहीबार

न्यायिक व्यक्तित्व

सर्वोच्चको पहिलो महिला न्यायमूर्तिको जीवनयात्रा

लेक्स नेपाल  |
बैशाख ०१, २०७८
29 Shares

नेपालमा स्वतन्त्र न्यायालयको इतिहास धेरै लामो छैन । करिब ६ दशक भयो नेपालमा लाइसेन्स लिएर वकालत सुरु गरेको कानुनव्यवसायीहरुले । त्यसमा पनि प्रारम्भकालमा त महिलाले पनि वकालत गर्छन् भन्नेकुरा झनै सोचिएको थिएन । वि.संं २०१० सालमा नेपालमा कानुनी शिक्षाको आरम्भ भए तापनि सुरुवातमा कानुन पढ्ने महिला भने कोही भेटिँदैनथे । यसैबीच २०२० सालतिर कानुनको अध्ययन गरेर अधिवक्ताको ७३ नम्बरको प्रमाणपत्र लिइन् एक महिलाले । र यसपछि नेपाली न्यायजगत्मा वकालतको आरम्भ भयो एक महिलाबाटै । 

 

केवल अधिवक्ता मात्रै रहेर वकालत गरिनन् उनले । महिलालाई कानुनी शिक्षा र साक्षरतामा विशेष भूमिका निर्वाह गरिन् । कैयन् महिलाका लागि न्यायलयको ढोका खोलिदिइन् । र यसै क्रममा वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्ने पनि उनी नै पहिलो महिला बनिन् । उनको कार्यक्षमतालाई कदर गर्दै अन्ततः उनलाई न्यायसम्पादनमा बोलाइयो र नेपालको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीशको बन्न सफल भइन् उनी । ती महिला हुन् सुशीला सिंह सिलु । प्रस्तुत छ कानुन अध्ययनदेखि वहस पैरवीसम्म र न्यायको वकालतदेखि न्यायमूर्तिसम्म नेपालको न्यायलयमा महिला प्रवेशले ल्याएको रुपान्तरणको कथा आजको रुपान्तरणमा ।  

 

२०२० सालतिरको कुरा हो । नेपालको न्यायालयमा महिलाको सहभागिता लगभग शुन्य थियो । महिलाले पनि वकालत गर्छन् भन्ने मानसिकता नै नभएको त्यो अवस्थामा महिलाले लेखेको निवेदन भने अब उप्रान्त सदर हुने भन्ने आदेश सर्वोच्चले दिएको थियो । महिला वकिलको संख्या शुन्य थियो । कानुन पढ्न त परको कुरा शिक्षा समेत सजिलैसँग नपाइने अवस्था थियो महिलाको । यस सन्दर्भमा कानुन पढेर, वकालतमा सरिक रहेर नेपालको पहिलो महिला अधिवक्ता बन्न सफल एक नारी हुन् सुशीला सिँह ‘सिलू’ ।  
 

दरबार हाइस्कुलको भवनमा रामराज पन्तको सक्रियतामा सञ्चालित पटना विश्वविद्यालयको सम्बन्धन प्राप्त नेपाल नेशनल कलेजबाट बिएल उत्तीर्ण गरेपछि २०२० साल फागुन ८ गते प्रमाण–पत्र संख्या ७३ को अधिवक्ताको प्रमाण पत्र लिइन् सिलुले । स्वर्गीय कृष्णप्रसाद घिमिरेको घिमीरे एण्ड कम्पनीबाटै कानुनव्यवसाय सुरु भयो उनको । त्यस समयमा सबै वकिलले जिल्ला अदालतबाट बहस–पैरवीको अभ्यास गर्दै सर्वोच्चमा जान्थे तर उनी भने सर्वोच्चबाट सुरु गरी जिल्ला अदालतमा बहस गरेको मान्छे ।
 

वकालत आरम्भ गर्दादेखि नै उनले महिला तथा बालबालिकाका मुद्याहरुमा विशेष रुचिका साथ पैरवी गर्थिन् । निःसहाय महिलाका लागि निःशुल्क कानुनी परामर्श सहायता सेवा दिने र कानुनी साक्षरता अभियानलाई देशभरि सञ्चालन गर्ने जस्ता कार्य गरी देश र देशवासीको सेवामा अग्रसर अधिवक्ता हुन् सिलु सिँह ।

 

नेपालको पहिलो महिला अधिवक्ता मात्र नभइ, पहिलो महिला वरिष्ठ अधिवक्ता र सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश बन्न सफल महिला हुन् सिलु सिँह । चाहे अधिवक्ता हुँदा होस् वा न्यायाधीश रहँदा उनी कहिल्यै विवादमा परिनन् । अधिवक्ता छँदा प्रष्ट रुपमा आफ्ना मुद्याहरुमा बहस पैरवी गर्ने देखि न्यायाधीश रहँदा संवेदनशील मुद्याहरुमाथि विशेष अध्ययन गरी न्यायसम्पादनमा उनको भूमिका रह्यो । यसर्थ सबैले सम्मान व्यक्त गर्ने र विशेष गरी महिलाकै निम्ति एक आदर्श पात्र हुन् सिलु सिँह । 
 

वि.सं.१९९६ साल फागुन २२ गते काठमाण्डौँमा सिलु सिँहको जन्म भयो । मध्यम वर्गीय नेवार परिवारमा जन्मिएकी सिलुले स्थानीय विद्यालयबाटै शिक्षाप्राप्ति आरम्भ गरी मानविकीमा स्नातक र कानुनमा बि.एल.सम्मको अध्ययन गरेकी छन् । परिवारमा कानुन व्यवसायी कोही नभएता पनि छोरीलाई वकिल बनाउने बाबुको इच्छा बमोजिम सिलुले यस क्षेत्रमा प्रवेश गरेकी हुन् ।  
 

अधिवक्ताको लाइसेन्स लिएर सुरुका दिनहरुमा केही समय वकालत गरे तापनि सिलुको अधिकांस समय भने सुस नामक संस्था स्थापना गरी कानुनी परामर्श र कानुनी साक्षरता अभियानमा कार्यरत रहँदै बित्यो । देशका दूर दराजमा रहेका गाउँबस्तीमा गइ उनले कानुनी सहायता प्रदान गरिन् र सबैलाई आफ्नो अधिकार र कानुन बारे सचेत बनाउँर्दै हिँडिन् संस्थामार्फत । गाउँघरका धेरै कानुनी मुद्यामामिलाहरुलाई मेलमिलापबाटै समाधानका लािग प्रोत्साहन गरिन् । 
 

उनले सर्वसाधारणलाई कानुनी सहायता प्रदान गर्न आफूसँगै थुप्रै नव महिला कानुनव्यवसायीहरुलाई एकजुट गराई नेतृत्व गर्थिन र समूहमा रहेर गाउँका महिला तथा असहाय पीडकहरुलाई सक्दो सहयोग गर्थिन् । 
 

सिलु सिँहको कार्यक्षमता साँच्चै नै प्रभावकारी थियो । आफू महिला भएर पनि होला समाजमा पछाडि पारिएका महिलाहरुको हक अधिकारका निम्ति सँधै नै वकालत गर्दै हिँडिन् उनी । 

 

न केही पाउने आशा अभिलाशामा बिना स्वार्थ नेपाली महिलाको कानुनी समस्या समाधान गर्दै सचेतना जगाउँदै गइन् सिलु । अन्ततः उनको व्यवहार र क्षमता देखेर सर्वोच्च अदालतमा महिला न्यायाधीश कोहीपनि नभएको अवस्थामा उनलाई प्रस्ताव गरियो । त्यस समयमा कानुनमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई आग्रह गरिन्थ्यो कानुन व्यवस्थालाई सुदृढका निम्ति न्यायाधीश पदमा आसिन हुन । कुनै दलीय भागबण्डामा न्यायाधीश नियुक्त गर्ने वा अधिक दर्खास्त पर्ने अवस्था थिएन । र त्यही स्वच्छताका बीच जब सिलुलाई न्यायालयमा आग्रह गरियो एकदुई पटक त लिन मानिनन् न्यायसम्पादनमा आफू तयार नभएको भन्दै । र अन्ततः तेस्रो पटकमा उनले प्रस्ताव स्विकारिन् र सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश बन्न सफल भइन् ।  

 

उनले न्यायाधीश भएर मुद्यामामिलाहरु हेर्दा निकै संवेदनशीलता र सतर्कता अपनाउँथिन् की कतै निर्दोशले सजाय नपाओस् र दोषी नउम्कियोस् भन्दै । नेपालको पहिलो महिलान्यायाधीश भएकाले नेपाली समाजका समस्याहरुलाई नजिकैबाट अध्ययन गर्ने र त्यसमा न्यायनिसाफ दिने राम्रै अवसर प्राप्त गरिन् उनले । 
 

न्यायाधीश भएकै बेला बालबालिका र महिलाका मुुद्यामा अन्यायका विरुद्ध अडिग रहन्थिन उनी । अन्याय गर्नेलाई उम्कन नदिनमा उनको ध्यान रहन्थ्यो । बेन्चहरुमा बस्दा पनि समकक्षी न्यायाधीशसँग पनि राम्रै व्यवहार हुन्थ्यो उनको । 
 

सिलुले जति समय न्यायालयमा बिताइन् न्यायिक मनमा कहिल्यै कमी आएनन् । एक दृढ महिलाका रुपमा न्यायजगत्मा आफैलाई स्थापित गराइन् उनले । जति योगदान पु¥याएकोमा गर्व लाग्छ त्यति नै माया छ उनको न्यायालयप्रति । 
 

नेपालको न्यायलयमा महिलालाई स्थापित गराउने एक प्रणेता नै सिलु सिँह । उनको आगमनले तमाम नेपाली नारीका लागि न्यायलय प्रवेशको मार्ग खोलिदिएको छ । समाजप्रतिको चिन्ता र चासो उनलाई सदैव रहेको छ । 
 

साँच्चैमा उनको कार्य महान् छ र उनको सफलता सबैका लागि प्रेरणादायी छ । सिलुको कार्य र योगदान न्यायलयमा नेपाली महिला प्रवेशका निम्ति रुपान्तरणको आधार बनेको छ ।  
 

नेपाल विकासोन्मूख राष्ट्र भएकाले समाजमा महिलाको पनि समान विकास र अवसर देखिँदैन । यो सन्दर्भमा न्यायालयमा गरिमामय पदसम्म पुगेर काम गर्न सक्नु चुनौति त थियो नै जगपनि आफैले बसाल्नु थियो र यसमा सफल भइन् सिलु सिंह । उनीपछि अरु महिलाले पनि त्यो मौका पाए र प्रधान न्यायाधीशसम्म बन्न सफल भए महिला । वास्तवमा यसको मार्ग भने सिलु सिंहले नै खोलेकी हुन् । उनले हिँडेको मार्ग मात्र नभइ उनले अनुसरण गरेको चरित्र पछ्याउँदै जाउन् नेपाली महिलाले । 
 

सुशिला सिंह ‘शिलु’ आज हामी माझ हुनुहुन्न तर उहाँको कर्मले नेपालको न्यायालयले ठूलो योगदान प्राप्त गरेको छ ।

लेक्स नेपाल


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८