२०७८ - श्रावण - १८ | सोमबार

संवैधानिक निकायमा नियुक्ति

संवैधानिक निकायहरुमा २० जना पादधिकारी र न्याय परिषद्मा १ जना सदस्य नियुक्त

लेक्स नेपाल  |
असार १०, २०७८
412 Shares

असार १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकाय तथा न्याय परिषदमा रिक्त रहेका पदमा नियुक्ति गरेकी छन् । बिहीबार संवैधानिक आयोगहरुमा २० जना र न्याय परिषदमा एकजनाको नियुक्ति भएको हो ।


राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार संवैधानिक परिषदको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा.. हरि पौडेल (बागलुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) नियुक्त भएका छन् ।


यस्तै, लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) नियुक्त भएका छन् भने सदस्यहरूमा माधव बेल्वासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर), मञ्जुकुमारी (महोत्तरी) नियुक्त भएका छन् ।


यसैगरी निर्वाचन आयोगको आयुक्तमा सगुन शम्शेर जबरा (रुपन्देही) नियुक्त भएका छन् । त्यस्तै, खालि रहेका प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा पाँचथरका विपिनराज निरौलालाई नियुक्त गरिएको छ भने राष्ट्रिय महिला आयोगको सदस्यहरुमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा (पर्वत)) तथा राष्ट्रिय दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौं) नियुक्त भएका छन् ।

यस्तै, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्व राजिष्ट्रार रामकृष्ण तिमल्सिना (कास्की), सदस्यहरुमा पुष्पराज तिमिल्सिना (पर्वत), मानप्रसाद खत्री (बझाङ) नियुक्त भएका छन् ।

आदिवासी जनजाति आयोगको सदस्यमा खोटाङका सुर्यबहादुर गुरुङ, मधेसी आयोगको सदस्यमा आभाकुमारी (सप्तरी), थारु आयोगको सदस्यहरुमा डा. उमाशंकर प्रसाद चौधरी (नवलपरासी) र शान्ति मोदी (मोरङ) नियुक्त भएका छन् भने मुस्लिम आयोगको सदस्यमा मोहम्मद समसुल हक (सर्लाही) नियुक्त भएका छन् ।

यसैबीच राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा हुने न्याय परिषद्को एकजना सदस्यमा रामेछाप, खनियापानी–९ निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छन् । यसअघि उक्त पदमा लक्ष्मी बहादुर निराला रहेका थिए । कोरोनाका कारण भएको निरालाको निधन पछि न्याय परिषद्को सदस्य पद रिक्त रहेको थियो ।

लेक्स नेपाल

थप समाचार