२०७८ - मंसिर - १२ | आईतवार

पञ्चायतले मात्र होइन प्रजातन्त्रले पनि उनकै खोजी गर्यो उच्च ओहदामा

उच्च कदका सर्वोच्च व्यक्तित्व – नयन बहादुर खत्री

यज्ञराज पाण्डे  |
जेष्ठ २७, २०७८
1.6k Shares

त्यो व्यक्तित्व हिमालभन्दा अटल, विचारमा चिन्तनशील, जीवनयापनमा सामान्यता तर कर्मठ कर्मयोगी । हिजोको यौवनकालमा उनले नेपालको न्यायव्यवस्था हाँके । मानवअधिकारलाई संस्थागत विकास गरे । नेपालको परराष्ट्र मामिलामा प्रत्यक्ष संलग्न रहेर राष्ट्रको अन्तराष्ट्रिय सम्बन्धमा उन्नति ल्याए । 

के देश के विदेश, जतासुकै पनि पुगेर नेपालको पहिचानलाई उच्च बनाए । देशभित्रका नीति नियम निर्माण र कार्यान्वयनमा विशेष भूमिका निभाए । शरीरमा शक्ति र विचारको धारा प्रवाह होएञ्जेल कहिल्यै बेकाम भएर बसेनन् उनी । त्यसैले त आज स्वनाम् धन्य भइ एक अमर जीवन बाँचेका छन् । ९७ वर्षको उमेरसम्म हामीसँगै रहेको उनको पार्थिव शरीरले धर्ति छोडेको दुई वर्ष भन्दा बढी भयो । तर पनि जबजब न्यायिक इतिहासका पानाहरु पल्टाइन्छन् नयन बहादुर खत्रीको योगदानको चर्चा नगरी न्यायिक इतिहास पूर्ण हुँदैन । 

उनी २००४ सालमा राणा शासनमा सुब्बा, मेजर र ल्हासाको वकिल, २००९ साल प्रजातान्त्रिक व्यवस्थामा कानुन सेक्रेटरी, सर्वोच्च अदालतको प्रधानन्यायाधीश, चीनका लागि नेपाली राजदूत र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष समेतका धेरै पदहरुमा बसेर अनुभव सँगालेका व्यक्ति । 

श्री ३ महाराज पद्म शमशेरको पालामा मुलुकी अड्डा ऐन सवाल फाँटमा सुब्बा दर्जाबाट सुरु गरेका थिए उनले आफ्नो सेवा यात्रा । मेजर दर्जामा (ल्हासा वकिल अड्डा) नेपाली लिगेशनमा ३ वर्ष बसी पछि नेपाल फर्कि कानुन मन्त्रालयमा डेपुटि सेक्रेटरी अनि सेक्रेटरी भए । २०१६ सालमा सर्वोच्च अदालतमा न्यायाधीश भई २०४२ सालमा प्रधानन्यायाधीश पदबाट अवकाश प्राप्त गरे । 

२००४ सालमा राणा प्रधानमन्त्री पद्म शमशेरले मुलुकी अड्डा ऐनसवाल फाँटको सुब्बा (तत्कालिन जनताका छोराले पाउने ठूलो पद) मा नियुक्त गरेको व्यक्ति नै २०५७ सालमा प्रजातान्त्रिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नेपालको राष्ट्रिय मानवअधिकार अयोगको अध्यक्षमा नियुक्त गर्न पनि नयनबहादुरकै आवश्यकता प¥यो । यो त संयोग नै थियो । उनको मेहनतको प्रतिफल थियो ।

वि.सं. १९७९ मा काठमाण्डौँको कुपण्डोलस्थित कानदेवतास्थानमा नयनबहादुर खत्रीको जन्म भयो । ७ वर्षको उमेरमा उनको बाह्राखरीको पढाइ १९८५ सालबाट भएको हो । वि.सं. १९९५ सालमा एस.एल.सि. परीक्षा उत्तीर्ण गरी आइ.ए. पढ्न त्रीचन्द्र कलेजमा भर्ना भए उनी ।

त्रिचन्द्र कलेजबाट बी.ए. उत्तीर्ण भएपछि नयनबहादुर खत्रीमा जागिर खाने विचार आयो । सर्वे अफिसरका रुपमा उनको जागिर यात्रा आरम्भ भएको थियो । जागिर भएपनि नयनबहादुरको अझ पढ्ने इच्छा थियो । श्री ३ चन्द्रशमशेरले उनलाई पढ्न पठाएपछि जागिर छोडेर उनी पढ्न लखनऊ गए । अर्थशास्त्र र समाजशास्त्रमा एम. ए. तथा कानुनमा बि.ए. गरे उनले । 

पढाई सकेर फर्केपछि नयनबहादुरलाई एकै पटक सुब्बाको दर्जा दिइयो तत्कालिन श्री तीनबाट । ऐनसवाल फाँटको मुख्य काम समय अनुसार कहिले नयाँ ऐनको तर्जुमा, कहिले भएकै ऐनमा संशोधन गर्ने कुरा पथ्र्यो । नयनबहादुरको चासोको विषयपनि ऐन नै हुन आयो । 

२०१६ सालको प्रारम्भमा कानुन मन्त्रालयमा छँदा एकजना मित्रले नयनबहादुर खत्रीलाई न्यायाधीश पदमा नियुक्त हुनुभन्दा केही दिन अगाडि “तपाईँ कतै जानुहुन्न । नेपालमा यसरी काम चल्दैन । जानोस् । आफ्नो मन्त्रीलाई त भेट्नोस्” भन्नुभयो । नयनबहादुरले भने, “म कतै जान्न, आजसम्म कतै गएको छैन ।” तैपनि मित्रले जोड गर्नुभयो । किन यसरी जोड गरेको होला भन्ने ठानेर नयनबहादुर कानुन मन्त्री सुर्यप्रसाद उपाध्यायकहाँ बेलुकापख एउटा फाइल बोकेर गै¥हीधारास्थित उहाँको निवासमा पुगे । सुर्यप्रसादबाट सोधनी भयो, “यस्तो साँझमा किन आउनु भएको हो ?” एउटा जरुरी काम परेर आएको भनेर उनले फाइल देखाए । फाइलमा सही गरियो । उठेर फर्कनलाग्दा, “हामीहरुले तपाईँलाई सर्वोच्च अदालतमा पठाउने विचार गर्दैछौँ, तपाईँको के विचार छ ?” उनले सोधे । “प्रमोशन हुने कुरा हुँदा मेरो भन्नु केही छैन, हजुरहरुको जस्तो विचार हुन्छ, मलाई मञ्जुर छ” भनेर नयनबहादुर फर्किए । एकदुई दिनपछि नयनबहादुरले केही कुरा निकासाका लागि कानुनमन्त्री मार्फत् प्रधानमन्त्री समक्ष प्रस्तुत गरे । प्रधानमन्त्रीले ती कुराहरु टिपेर आफूलाई दिनोस् भनेपछि केहीछिन पछि नयनबहादुरलाई टिप्न लगाएका थिए जसमा लेख्नुपर्ने थियो, “भगवति प्रसाद सिंहलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरी का.मु. प्रधान न्यायाधीश मुकरर गरेको, रत्नबहादुर बिष्टलाई न्यायाधीशमै थमौति गरेको र म (नयनबहादुर खत्री) लाई न्यायाधीशमा नियुक्ति गरेको ।” यो सूचना रेडियो नेपालबाट प्रशारण गर्न लगाइयो । नयनबहादुर खत्रीलाई सर्वोच्च अदालतको न्यायाधीश हुन कसैलाई पनि अनुरोध गर्नु परेन । 

उमेरको हदको कारणले ६५ वर्षको उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनु पर्ने व्यवस्था थियो । तर पछि प्रधान न्यायाधीशको अवधि १० वर्ष तोकियो र उनले ६५ वर्ष पूरा गर्ने सम्भावनै भएन । १० वर्षमा पनि कतिपय कारणले उनले ९ वर्ष ७ महिनामा अवकाश लिनुपर्यो । 

सर्वोच्च अदालतमा छँदा नयनबहादुर खत्रीले न्यायाधीश बाहेक अन्य पदीय दायित्व पनि बहन गरे । नेपाल कानुन पत्रिकाको सम्पादक मण्डलको अध्यक्षको हैसियतले सो पत्रिकाको प्रकाशनमा सहयोग पु¥याए । विशेष अदालतबाट चाँडो मुद्या छिनिएला भन्ने सोच थियो तर यसो नभई झन् ढिलासुस्ती भएको हुँदा यसको कारण पत्ता लगाई रिपोर्ट पेस गर्ने कामको जिम्मा उनैलाई दिइएको थियो । त्यो रिपोर्ट पनि पेश भयो । पहिले २०१६ सालमा उनकै अध्यक्षतामा ल कमिशनको गठन भएको थियो । त्यस कमिशनमा मिनबहादुर थापा सदस्य र विश्वनाथ उपाध्याय सचिव थिए । सम्वत् २०१५ सालमा नेपाल अधिराज्यको संविधान जारी भएपछि त्यसको प्रावधानसँग प्रचलित ऐन कानुन कति बाझियो कति बाझिएन भन्ने सम्बन्धमा अध्ययन गरी अनुकूलन गर्ने काम हुनुपर्ने थियो । दुई वर्षमा कमिशनबाट त्यो काम सम्पन्न भयो । 

२०१५ सालमा नयाँ संविधान आयो । २०१७ सालको राजनैतिक परिवर्तनपछि जिल्लाका अदालतहरुको निरीक्षण गर्न डोर पठाउने भनी सर्वोच्च अदालतबाट निर्णय भयो र नयनबहादुर खत्रीलाई पूर्वतर्फको अदालतहरुको नीरिक्षण भ्रमणमा दौडाहा जाने आदेश भयो । विद्यमान अवस्था बुझेर सुधार गर्नुपर्ने भए सो निर्देशन दिएर धरान, सप्तरी, जलेश्वर, सर्लाही, सिराहा, सिन्धुली, रामेछाप, चरिकोट, ओखलढुंगा, ऐसेलुखर्क, खोटाङ्ग, उदयपुर, लाहानका जिल्ला अदालत निरीक्षण गरी काठमाण्डौँ फर्केका थिए उनी । 

प्रधानन्यायाधीश रत्नबहादुर बिष्टको कार्यकाल समाप्त भएकाले २०३३ साल श्रावण २४ गते आइतबार नयनबहादुर खत्री प्रधानन्यायाधीशमा नियुक्त भए । प्रधानन्यायाधीशमा नियुक्त भएपछ् िदोस्रोपटक पनि अध्यक्ष भएर सम्हालि रहेको ल कमिशनको अध्यक्षको पद छोडेर नितान्त प्रधानन्यायाधीश बनेर सेवा अगाडि बढाएका थिए उनले । त्यसबेला संविधानमा प्रधानन्यायाधीशको पदावधि १० वर्षको हुने व्यवस्था थियो । १० वर्षसम्म उनले प्रधानन्यायाधीशको काम गर्न सक्नेमा न्यायाधीश पदमा काम गरेको अवधि पनि त्यसमा जोड्ने निर्णय हुँदा लगभग ९ वर्ष ६ महिना जति प्रधानन्यायाधीश भएर कार्य गरे । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश भइ कार्य गरेको यो अवधि सबैभन्दा लामो हो । त्यत्ति लामो अवधिसम्म न कोही प्रधानन्यायाधीश भएको थियो न त कोही हुन नै पाउने छ । 

देश किन बनेन भन्ने विषयमा किन नेपालमा स्थायित्व आएन भन्ने कुरा जब आउँछ कानुनको शासन कसैले बुझ्दै बुझ्दैनन् वा बुझ्ने कोशिस नै गरेनन् भन्ने नयनबहादुर खत्रीको विचार हो । कानुनको शासनभन्दा मानिसको शासन चलिरहेकोले स्थायित्व आउन नसकेको उनको ठम्याइ थियो । आफूले  राजाको प्रत्यक्ष शासनकालमा न्यायालय सम्हालेकाले उनी भन्थे, ‘श्री ५ वीरेन्द्र जस्तो विशाल हृदय भएका प्रजातन्त्रिक विचार धाराले ओतप्रोत भएका राजा भएर सदा सिद्धान्तको जगमा उभिने बि.पी. जस्ता प्रधानमन्त्री भइदिएको भए देशमा स्थायित्व कुन ठूलो कुरा हुन्थ्यो ।’ 

नयनबहादुर खत्रीका पालामा राम्रा नजिरहरु पनि प्रतिपादित भएका छन् । अदालती कामकारबाही सुधार गर्ने राम्रा कामहरु पनि भएका छन् । सर्वोच्च अदालतमा दायर हुन आएका पुनरावेदनका सम्बन्धमा सम्बन्धित अदालतबाट मिसिल झिकाई पेशीमा चढाई चाँडो मुद्धा फछ्र्यौट गर्ने काम भइरहेको थियो । धेरै महत्वपूर्ण मुद्धाहरुको फैसला नयनबहादुर खत्रीले गरेका थिए । जसमा यज्ञमुर्ति बञ्जाडेको मुद्या, विश्वेश्वर प्रसाद कोइरालाको मुद्या, गोला हाली निर्णय गर्नुपर्ने २०२४ सालको निर्वाचनसम्बन्धी मुद्या लगाएतका चर्चित तथा महत्वपूर्ण मुद्याहरु उनकै बेञ्चबाट फैसला भएका छन् ।

नयनबहादुरका कार्यकालमा समाजले न्यायाधीशहरुलाई पर्याप्त सम्मान र आदर दिएको थियो । हुनत न्यायाधीशहरुलाई मुद्धामा हार्ने झगडियाले र समाजका केही वर्गले विभिन्न आक्षेप नलगाउने होइनन् तथापी समष्टिमा समाजले न्यायाधीशलाई समाज चिनेको, विद्वान, बुद्धिमान र गहिरो विचार भएको व्यक्तिको रुपमा हेर्ने गर्दछन् । दलगत भावनाबाट माथि उठेको निष्पक्ष र समस्या समाधान गर्न सक्ने क्षमतावान् मानेर होला कि निष्पक्षताका साथ काम गर्नुपर्ने निर्वाचनसम्बन्धी काममा मानवअधिकार आयोगजस्तो प्रतिष्ठित निकायमा, प्रेस काउन्सिलमा, कुनै घटना वा वस्तुस्थितिको जाँचबुझ गर्नेजस्ता काममा वहालवाला तथा अवकाश प्राप्त गरेर बसेका न्यायाधीशबाट नियुक्ति गर्ने गरिएको हुन्छ । 

आजको न्यायालयका लागि एक प्रेरक व्यक्तित्व हुन् नयनबहादुर खत्री । उनले गरेका फैसला, उनको न्यायिक आचरण यो हरेक पुस्ताले पढ्नु पर्ने मनन् गर्नुपर्ने विषय हुन् । उनले २०५७ मा मानवअधिकार आयोगको संस्थापक अध्यक्षको पद सम्हालेका थिए भने दोस्रो कार्यकालका लागि पनि उनी नै अध्यक्ष थिए । पछि त उनले चीनका लागि राजदूत समेतको पद सम्हालेका थिए ।

जीवनको उत्तरार्धमा नयनबहादुर खत्री अल्जायमर रोगबाट ग्रस्त भएकाले अशक्त भएर बसेका थिए । जब यो लेखक उनीबारे लेख्न उनको घर पुगेको थियो उनी न बोल्न सक्ने अवस्थामा थिए न त हिँड्डुल नै गर्न सक्थे, न कसैलाई चिन्न सक्थे । उनको जीवन बारे मुलुकको त कुरै  छोडौँ न्याय जगतका व्यक्तिहरुले समेत बुझेका छैनन् । तर उनको कर्म, आचरण र फैसलाहरु आजपनि कानुनी वृत्तमा उत्तिकै महत्वपूर्ण छन् । 
उनलाई नपढी, नबुझि, उनका फैसलालाई अध्ययन अनुसन्धान नगरी र उनको कार्यकालमा भएका कार्यहरुको सुक्ष्म विश्लेषण नगरी गरिने नेपालको न्यायिक इतिहासको अध्ययन अपूर्ण हुन जान्छ । 
 

यज्ञराज पाण्डे

थप समाचार